बेलायतमा रहेको आम म्याग्देलीहरुको सबैभन्दा ठूलो सामाजिक र सामुदायिक संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) बेलायतले यति खेर म्याग्दीमा २ वटा एम्बुलेन्स पुरयाउने लक्ष्य सहित आफ्नो एम्बुलेन्स परियोजनाको कार्यलाई तिब्र बनाएको छ र यही आउँदो फाल्गुण १७ , २०६८ ( २९ फेब्रुअरी २०१२ ) मा दरबांङ्गमा र फाल्गुण २०, २०६८ ( ३ मार्च २०१२ ) मा भुरुङ तातोपानीमा एक एक ओटा एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै गरी फाल्गुण २२ , २०६८ ( ५ मार्च २०१२ ) मा बेगखोला गाबिस बेगमा कार्यक्रम रहेको जानकारी मोना युकेले गराएको छ ।
गत नव बर्ष शुभकामना साँझमा संकल्प गरिए अनुसार मोना युकेले एम्बुलेन्स प्रोजेक्ट संचालन गर्न बिभिन्न उच्च स्तरीय व्यक्तित्वहरु , बेलायत स्थित नेपाली राजदूताबास , म्याग्दी सदरमुकाम बेनी स्थित जिल्ला प्रशासन कार्यालय , प्रमुख जिल्ला अधिकारी , नेपाल रेड क्रस सोसाइटी , म्याग्दी शाखा सँग आवश्यक परामर्श र सल्लाह अनुरुप अगाडी बढाएको हो । कुनै सम्पत्तिवाला व्यक्तिलाई आफ्नो सम्पत्तिको मानौं १० लाख रुपियाँ नगद , जिन्सी अथवा जग्गा जमिन दान गर्नु कुनै ठूलो कुरा होइन तर त्यहिँ १० लाख रुपियाँ बराबरको रकम सामुदायिक स्तरबाट दुई हात जोडी भिख मागी थोपा थोपा गरी जोडेर आफ्नो जन्म स्थल र आफ्नो जिल्लामा सबैको एउटा प्रतिनिधित्व गर्दै पुर्याउनु अर्थात् हस्तान्तरण गर्नु निकै चुनौंती पूर्ण कार्य हो ।
हाल बेलायतमा रहनु भएका सम्पूर्ण म्याग्देली दाजुभाइ तथा दिदीबहिनीहरुले यही एम्बुलेन्स परियोजनामा सहयोग गरेको देख्दा उहाँहरुको अमुल्य समयको सहयोग, उहाँहरुले गरेको आर्थिक सहयोग भविष्यमा खेर नजाने बिश्वास गर्न चाहन्छौं । त्यसका पछाडी थुप्रै अप्ठ्याराहरु , समुदायको बुझाई अलग अलग रहनु स्वाभाविक हो तर पनि यसको पछाडी अनेकौं कुरा सोच्न भन्दा एम्बुलेन्स परियोजनालाई सफल बनाउन तपाई बेलायतमा बस्नु हुने आम गाबिस म्याग्देलीहरुलाई आफ्नो क्षमता अनुसार आर्थिक सहयोग यही १५ डिसेम्बर, २०११ भित्र गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।
यस एम्बुलेन्स परियोजनाका लागि बैंक खाता छुट्टै खोलिएको छ र ३ जना छुट्टै कोषाध्यक्षहरु रहनु भएको छ जसमा मोना यूके संस्थापक अध्यक्ष श्री दलमान पुन चिउरीबोट , अमर मल्ल राखु र निल प्रसाद पुर्जा औला हुनु हुन्छ र हाल उहाँहरुले फन्डको लागि तिब्र कडा मेहनत गरी राखनु भएको छ । स्वास्थ्य र सुरक्षाको दृष्टिकोणबाट म्याग्दीमा जिल्ला प्रशासन कार्यालयको रोहबरमा रेड क्रस सोसाइटी म्याग्दीले एम्बुलेन्स संचालन गर्ने जिम्मा पाएको छ । एउटा सो रुममा भएको चिल्लो गाडी खरिद गर्न जति सजिलो छ त्यति एम्बुलेन्स खरिद गर्न सजिलो छैन , र यो कुनै एउटा व्यक्तिले खुसुक्क किन्ने कुरा पनि होइन , मोना यूकेले आम जनमानसमा पारदर्शी ढंगले सबैलाई थाहा हुने गरी बिभिन्न देशमा भएका सयौं जना इमेल कर्ताहरुलाई एम्बुलेन्स प्रोजेक्टको बारेमा जानकारी गराउदै आएको छ र आवश्यक सल्लाह र सुझाव पनि लिंदै आइराखेको छ र त्यसको अलावा केही जानकारीहरु आफ्नो आधिकारिक वेबसाइट www.myagdimonauk.org मार्फत दिदै आएको पनि छ ।
नेपाल रेड क्रस सोसाइटी म्याग्दीका शाखा अधिकृत श्री धनन्जय कुमार श्रेष्ठ ज्यूले खरिद प्रक्रियामा जुट्नु भएको छ । म व्यक्तिगत रुपमा के अनुरोध गर्न चाहन्छु भने उहाँले बजेटको सहि अनुमान लगाई खरिद प्रक्रियालाई तिब्र बनाउन सके मोना यूकेलाई सजिलो हुने थियो जस्तो लाग्छ र नेपालको कार्यहरु सबै म्यानुल गर्नु पर्ने अथवा अनलाइन नहुने हुनाले कार्य ढिला हुन स्वाभाविक ठानिन्छ र मोना यूके यसको लागि २४ सै घण्टा तयारी अवस्थामा रहेको छ ।
मेरो आफ्नो नितान्त व्यक्तिगत बिचारमा यस बारेमा आफ्नो अनुभव नभए पनि एक दुई शब्द नेपालीमा लेखि जानकारी गराउने क्रममा मोना यूकेका संरक्षकहरु , सल्लाहकारहरु र पदाधिकारीहरु म्याग्दीको पूर्व पच्छिम जहाँ भए पनि एम्बुलेन्स प्रोजेक्टलाई सघाउनु भएको छ , यो होइन की मेरो गाउँ र गाबिसमा त एम्बुलेन्स पुग्दैन क्यारे मलाई के खाँचो भनि सहयोग नगरेको मैले पाएन, उनीहरु बिल्कुल सामाजिक र सहयोगी भावनाले प्रेरित भएको पाए , यो कुरा नै सबैभन्दा ठूलो कुरा लाग्यो । उदाहरणको लागि म्याग्दी चिमखोलाका दूत पुन गर्बुजा, उहाँ आफै यही आउँदो डिसेम्बर १७ , २०११ को चारिटी डिनरको संयोजक बस्नु भएको छ , यदि उहाँले मेरो गाउँ एम्बुलेन्सदेखि टाढा छ भन्ने सोच्नु हुन्थ्यो होला भने कहिल्यै पनि यो परियोजना अगाडी बढ्दैन थियो होला । एम्बुलेन्स हस्तान्तरणको क्रममा उहाँहरु नेपाल जाँदा उहाँहरु आफ्नो व्यक्तिगत खर्चमा जानु हुनेछ । जति पनि एम्बुलेन्स परियोजनाको लागि उठेको रकम छ, त्यो परियोजनाको लागि नै खर्च हुने छ , जस्तो एम्बुलेन्स खरिद गर्दादेखिको ढुवानी खर्च , दोस्रो मुलकबाट झिकाउदा हुने जोखिम, बिमा खर्च , पेटेन्ट तथा लोगो पेन्ट , नेपाली र अंग्रेजी भाषा दुवैमा संस्थाको नाम भएको भए राम्रो ,नेपालमा आइसके पछि सवारी दर्ता , बिमा खर्च, बिभिन्न सरकारी कर कार्यालयमा दर्ता , त्रिपक्षीय सम्झौता , द्धिपक्षीय सम्झौता कागजपत्र, सेवा नियमावली , आर्थिक अनुशासनका ऐन तयारी गर्नु पर्ने हुन्छ र एम्बुलेन्स परियोजनामा सहयोग गर्ने सम्पूर्ण चन्दादाताहरुको नामावली सहित हस्तान्तरण हुन्छ , त्यसमा कुनै आर्थिक हिना मिना हुदैन । पछि बकैता परियोजनाको अडिट अर्थात् लेखा परिक्षण हुन्छ । जहाँ सम्म एम्बुलेन्सभित्र ठूलो रकम सहयोग दाताहरुको नामावली राख्ने भन्ने रेड क्रसको आफ्नै बिधान छ त्यसमा त मेरो आफ्नै बिचारमा भन्नु पर्दा खासै कोही पनि एम्बुलेन्सभित्र गएर नामावली हेर्ने कुरा आउदैन ,ब्यस्त भएको बेला हेर्ने कुरै भएन , अघि पछि त्यो नाम हेर्नको लागि मात्रै गाडी भएको ठाउंमा जाने कुरा भएन , त्यसको रेकर्ड पुरा एउटा परियोजनाको कितावमा र रेडक्रस सोसाइटीको कार्यालयमा रेकर्ड हुनेछ , तपाई हरु जहिले पनि हेर्न सक्नु हुनेछ र वेबसाइट मार्फत पनि प्रशारण गरिनेछ ।
स्मरण रहोस् यस एम्बुलेन्स परियोजना शुरुवात गर्ने क्रममा शुरुमा मोना युकेका संरक्षक श्री योगेन्द्र क्षत्री प्रतिनिधिको रुपमा म्याग्दी बेनीमा प्रमुख जिल्ला अधिकारीको सयोजकत्वमा बसेको बैशाख ३ गते २०६८ को पहिलो बैठकमा उपस्थित हुनु भएको थियो र पछिल्लो पटक असोज ६ गते २०६८ मा मोना यूकेको प्रतिनिधित्वको रुपमा श्री मेजन पुन उपस्थित हुनु भएको थियो। यस एम्बुलेन्स परियोजनाको ओफिसियल पत्राचार मोना यूकेका उपाध्यक्ष श्री ध्रुब केसीले सम्हाल्नु भएको छ । यी पत्रहरु खुला रुपमा वेबसाइटमा पनि राखिएको छ तपाईहरु क्लिक गरेर हेर्न सक्नु हुन्छ र स्मरणरहोस यी सबै अपडेट सुचनाहरु इमेल , फेसबुक र वेबसाइटमार्फत मोना यूकेले दिदै आइराखेको छ र बिस्तारै अन्य मिडियामा पनि प्रशारण गर्ने कार्यक्रम रहेको जानकारीमा आएको छ ।
आजको बिजयदशमीको दिन थियो , ठ्याक्कै मेरो पनि हप्ते बिदा थियो र यसैको अवसरमा यी कुराहरु लेखन मौका पाए , र अझ खुशीको कुरा हाम्रै गाबिस बेगखोलाबाट मात्रै पनि करिव ९ लाख नेपाली रुपियाँ जत्तिको सहयोग रकम एम्बुलेन्स प्रोजेक्टको लागि उठी सकेको कुरा जानकारीमा आएको छ । तपाईहरु पनि ढिलो नगर्नुहोस , तपाईहरुको सानो सहयोग पनि धन्य हुनेछ , तपाईहरु एक पोका रगत दान गर्न म्याग्दी पुग्न सक्नु हुन्न , तपाईहरु आफ्नो सहयोग जिल्लामा पुरयाउने इच्छा पुरा गर्न आफ्नो जिल्ला र गाउँमा तत्कालै पुग्न सक्नु हुन्न , यहाँ त तपाईहरुकै प्रतिनिधि भएर म्याग्दीमा सहयोग गर्न गई राखेका छन, मोना युकेका प्रतिनिधिहरु , तपाईहरु हिजो आफ्नो गाउँ र बिधालयलाई लाखौं सहयोग पनि गर्नु भो , खै त कतै मिडियामा पनि देखिएन तर आज बेग्लै किसिमले एम्बुलेन्सलाई सहयोग गर्दै हुनु हुन्छ , तपाई हरु शंका नगर्नुहोस ,मैले दिएको सहयोग रकम कसरी र कहाँ उपयोग हुन्छ भनेर । आखिर यी सहयोग ति म्याग्दीका वारी डाँडा र पारी डाँडामा रहेका आफ्ना आफन्त कोही न कोहीले त सेवा पाउलान नी त भन्ने अपेक्षा राखनु होस्
मैले यो भन्दा अगाडी नयाँ बर्षको दिन मा पनि जन मानसमा यसबारे सूचना समाचार प्रशारण गरोस भनि मोना बेलायतलाई शुभकामना गरेको थिए आज ठिक त्यसै गरी हरेक माध्यमबाट आफ्नो सक्दो , जानेको सूचना समाचार प्रशारण गर्ने जमर्को गरेको छ र कहिँ कतै भूल भए उहाँहरुको इमेल ठेगानामा पत्राचार गर्न सक्नु हुन्छ , जय ! एम्बुलेन्स परियोजनाले बिजय प्राप्त गरोस भनि हार्दिक अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु ।
धन्यवाद !
एशियाको टापुबाट
असोज १९ , २०६८